आफ्नो निन्द्रा बेची सन्तानको सपना किन्ने ‘आमा’

औंशीलाई आमाको मुख हेर्ने विशेष दिनको रुपमा लिईन्छ । हुनत आमाको महिमा, वात्सल्य, प्रेम र सन्तानका लागि गरेको त्यागलाई केही मिठाइ, कपडा, पैसा तथा शुभकामनाको औपचारिकताले मात्र खरिद गर्न सकिँदैन । आमाको जीवनभरको त्याग र बलिदानीको हिसाब बुझाउन आमालाई जीवनभरको खुसी र माया दिनु सार्थक होला । सन्तानको खुसीमा नै आमा सबैभन्दा खुसी हुन्छिन्, सन्तानको प्रगतीमै रमाउँछिन् । आफ्नो निन्द्रा बेचेर बच्चाको सपना खरिद गर्ने आमा संसारमै महान छिन् । आज मानिस भगवान् खोज्न भौंतारिरहेका छन्, कस्तुरीले आफ्नो बीना खोजेजस्तो गरि र आफ्नो समिपमै रहेकी जिउँदो भगवान् आमाको वेवास्ता गरिरहेका छन् ।

बच्चालाई आमा जस्तो भए पनि दुनियाँकै सुन्दर आमा नै लाग्छ, आमाको पसिनाको गन्ध उसलाई बास्नादार लाग्दछ । आमाको काख नै बच्चाको लागि सबैभन्दा सुरक्षित स्थान हो यहाँ यस्तो सुरक्षाको प्रत्याभूति छ कि त्यो संसारको कुनै पनि वस्तुमा हुँदैन । काखमै यस्तो अगाध प्रेम छ कि ऊ काखकै विछ्याउनामा बसी स्तनपान पनि आँखा चिम्लेर गर्दछ । आमालाई एक निमेष पनि नदेख्दा छट्पटिन्छ र आमालाई जति धेरै अरु कसैलाई पनि विश्वास गर्दैन बच्चाले । सबै स्थानमा भगवान्को उपस्थिति संभव नभएको कारण नै सुरक्षाको निम्ति आमाको सृष्टि भएको होला सायद । संसारमा जति पनि सम्बन्धहरु छन् ती सबै सामिप्यता ले बन्न सक्लान तर आमा र आमाको निःस्वार्थ माया संसारको कुनै पनि सम्बन्धबाट पाउन असंभव छ । आमाको प्रेममा कुनै सिमा नै हुँदैन । संसारमा विना शर्त प्रेम गर्ने आमा मात्र हुन् जसले सन्तानका समस्त कमजोरीका साथ पनि स्विकार्छिन । त्यसैले भनिएको छ — ‘कुपुत्रो जायत क्वचिदपि कुमाता न भवति’ अर्थात छोरा कुपुत्र हुन सक्छ, माता कहिल्यै कुमाता हुँदिनन् । वास्तवमा आमाको ममता अनमोल र अतुलनीय हुन्छ । रामायणमा पनि भनिएको छ कि ‘जननी जन्मभूमिश्चः स्वर्गादपि गरियसी ।’

अब्राहम लिंकनले भनेका छन् —‘आमा साथमा हुने मानिस कहिल्यै पनि गरिब हुन सक्दैन ।’ यसैगरि विख्यात साहित्यकार जर्ज हबर्ट ले भनेका छन् — ‘विद्यालयका हजार शिक्षक–शिक्षिका भन्दा एक असल आमा मूल्यवान छिन् ।’ आमाको उत्सर्ग र महानतामा आधारित थुप्रै कथा कहानी हरु पनि प्रचलित रहेका छन् । संसारमा यस्ता दार्शनिक महान व्यक्ति छँदै छैनन् जसले आमाको महिमा नगाएको होस् । म्याक्सिम गोर्कीको ‘आमा’, कवि गोपालप्रसाद रिमालको ‘आमाको सपना’, सिद्धिचरण श्रेष्ठको ‘आमा’ यसका केही प्रतिनिधि कृतिहरु हुन् । हरेक सर्जकले आमाको बारेमा साहित्य रचेको पाइन्छ र संसारमा सबैभन्दा धेरै लेखिने साहित्यको विषय नै आमा बनेको छ । राजनीति गर्ने महान् व्यक्तिहरुले पनि आमाको आर्शिवादलाई शिरोधार्य गरेको पाईन्छ । त्यसैले त महात्मा गान्धीले भनेका थिए — ‘मैले जे बोलेको छु त्यो सबै मेरी आमाको देन हो ।’

हरेक प्राणीमा आमा पूजनिय छिन् चाहे त्यो स्वरुपमा सानो नै किन नहोस् । सबै प्राणीले आफ्नो सन्तानको बचाउ गर्दछन् । कुकुरको अगाडी उसको बच्चा छोइदिँदा ऊ झम्टिन जान्छ । पन्छीले पनि आफ्नो बचेराको रक्षाको लागि न्यानो भुवाले छोपेर राखेको हामीले देखेकै छौं । कस्तुरीले पनि आफ्नो बच्चाको हेरविचार र रेखदेख गर्न आफ्नो छातीको थैलीमा राखी बच्चाको सुरक्षा गरिरहेको हुन्छ । आमा जति पवित्र शब्द यो संसारमा अर्को छँदै छैन । मा, आमा जननी, महातारी, मम्मी, मुमा भनि जुन शव्दले पुकार गरेता पनि त्यो आमा प्रतिको सम्मान नै हो ।

कुनै समय थियो आमाको वचन अकाट्य हुन्थ्यो । त्यसैले त सबै भाइले बाडेर लिनु भनि पाण्डबका आमाले भनेको वचन काट्न नसकि द्रौपतीले पाँच पाण्डबको अर्धाङ्गिनी भएर रहनु परेको थियो । तर अहिले समय बदलिएको छ । अहिलेको मानिस यति व्यस्त भए कि वचन नकाट्नु त परको कुरा बच्चाको भविष्यमा नै आफ्नो भविष्य देखेर आफ्ना सारा सपनालाई तिलाञ्जली दिएका आमालाई दिने समय हुदैन । बच्चामा एउटै कुरा जति पटक सोध्दा समेत हाँसी हाँसी सिकाउने आमाले वृद्ध अबस्थामा एक पटक मात्र सोध्दा पनि झर्किने तथा वेवास्ता गर्ने सन्तानको कमी छैन यहाँ । जब साहाराको आवश्यकता पर्छ तब सन्तानले अनकन्टार बेसाहारा वृद्ध आश्रममा छोडिदिन्छन् र आफ्नो अन्तिम श्वासको पर्खाइमा पट्यारलाग्दो जीवन गुजार्र्न बाध्य छन् । शिक्षाका लिने र आधुनिकताको नाममा शहर पसेका सन्तानले आमा तथा घर परिवारलाई वेवास्ता गरि शहरमा नै घरजम गरि आमालाई वेवास्ता गरेका छन् । आमालाई पन्छाएर जीन्दगी बाँच्न खोज्ने सन्तानको सफलता टुुहुरो हुन्छ । आफ्नो सुखलाई तिलान्जली दिएर सन्तानको सुखमा रमाउन सक्ने तागत आमा बाहेक अरु कसैमा पाउन सकिँदैन । त्यसैले त अन्तिम श्वास सम्म पनि सन्तानको सुखको कामना गरिरहेकै हुन्छिन् आमा ।

जब कुनै पनि वस्तु आफू भन्दा टाढा हुन्छ तब त्यसको महत्व थाहा हुन्छ । अहिले आमा नहुने हरुलाई जति आमाको महत्व महसुस भएको छ त्यति महत्व आमा नहुने हरुलाई थाहा नहुन सक्छ । पिंडादायी प्रसव वेदना सहेर, जति सताउँदा पनि माया र ममताले ठूलो मान्छे. बनाएको आफ्नो सन्तानले वेवास्ता गर्दा कुन चाहिँ आमाको मन नभक्कानिएला र ? आमाको खुसीमा खुसी हुने र दुःखमा साथ दिने गरेमा मात्र पनि आमालाई ठूलो खुसी मिल्न सक्छ । त्यसकारण आमाको मायालाई समय छँदै चिनौं, जव आमा आफूबाट टाढा पुगिसकेपछि मात्र आमाको नाममा आँशु खसालेर मात्र आमा प्रतिको कर्तव्य पूरा हुन सक्दैन । जिउँदो छँदै आमाको पूजा गरौँ आमालाई तृप्त बनाउँ । बाँचुन्जेल आमालाई वेवास्ता गरि मृत्यु पछि आमाको प्रतिविम्ब खोज्नु मुर्खता शिवाय अरु केही हुन सक्दैन ।

Advertisements

कर्नालीको सपना तुहिएको कथा (पुस्तक समिक्षा)

गीत तथा अखबारी लेखनमा स्थापित सुरेश प्राञ्जलीको नाम आजभोलि चर्चामा छ । कारण, उनले लेखेको उपन्यास ‘तुइन’ जसले आज फेरि दस वर्षे सशस्त्र द्वन्द्व र गरिबीको चेपुवामा परेको कर्नालीको चीत्कार सुनाएको छ । कर्नालीवासीले भोगेको उत्पीडनको कथालाई यसले उजागर गरेको छ, जहाँ कर्णालीवासीहरु मर्दै जिउन विवश छन् ।

दुर्गम कर्णालीको एउटा ठिटाको आँशुले लेखेको सपना हो ‘तुइन’, जसको मृगतृष्णा कहिल्यै पूरा हुन सकेन । जुम्लाको गरिब परिवारमा जन्मेको भूमिराजले द्वन्द्वकालको दुई पक्षबीचको चेपुवामा परेकोतुइन कभर पात्रको प्रतिनिधित्व गरेको छ । भौगोलिक विकटता भएको कर्णालीमा विकासको छायासमेत पर्न सकेको छैन । द्वन्दको चेपुवामा परेका कर्णालीवासीलाई प्रकृतिले पनि नराम्ररी ठगेको छ । यहाँका नागरिकको सपना द्वन्द्वकालका दुई पक्षीय सेनाको बन्दुकको कुन्दाले थिचिएका छन् । भर्खर प्रेमिल संसारमा भुल्न खोजेको कान्छा (भूमिराज) को प्रेम मालतीलाई पनि यही द्वन्द्वको झिल्काले चुँडिदिएको छ । हाँस्ने, खेल्ने, रमाइलो गर्ने बाल्यकाल खोसिदिएको छ । आफ्नो पढाइ तथा भविष्य त्यागेर द्वन्द्वमा होमिनु यहाँको नियति नै बनेको छ । भूमिराजले पनि यही नियतिलाई निरन्तरता दिनु बाध्यता बनेको छ । आफ्नै आँखाको अगाडि मृत्यु देखेको छ भने आफ्नै साथीको अन्तिम चीत्कार पनि सुनेको छ ।

यही युद्धको समयमा आमालाई झाडापखाला भएको बेला पानी खुवाउन हुँदैन भन्ने कुरा पढेको थाहा हुँदाहुँदै पनि त्यहाँका मानिसहरुको अन्धविश्वास तथा कुसंस्कारको जित हुन्छ र भूमिराजको हार अनि आमा कर्णालीमा समाहित भएको कारूणिक कथा छ ‘तुइन’मा । भोकमरी, महामरी, कुसंस्कार, अन्धविश्वास र अशिक्षाका कारण कयौँ भूमिराज र उसका परिवारजनहरु दुःखको भूमरीमा पर्नु परेको छ, टुहुरो हुनु परेको छ । यसर्थमा पनि यस क्षेत्रको युद्धको समय अन्य क्षेत्रको भन्दा फरक छ ।
डर र त्रासका बीचमा आमाको जस्तो माया गर्ने भाउजूलाई एक्लै घरमा छोडेर, आफ्नो प्यारो जन्मभूमि छोडेर जाने निर्णय गर्छ वा नियतिले छोड्न बाध्य बनाउँछ । जुम्ला, कालीकोट, दैलेख, सुर्खेत हुँदै नियतिले उसलाई पछार्दै ल्याउँछ । उसलाई पोखरा जाने रहर लाग्छ र पोखरा जाने क्रममा नवलपरासीमै ऊ अलपत्र हुन्छ र एउटा घरको शरणमा ऊ पुग्छ । त्यहीँ उसले पढ्छ, एसएलसी पास गर्छ र उच्च शिक्षा पढ्न पोखरा जाने क्रममा फेरि सेनाको जबरजस्तीले उसलाई जेलमा लग्छ । नभएको कुरा हो भन्न निर्मम यातना दिन्छ र त्यहीँ उसको सारा सपनाको अन्त्य हुन्छ । सत्यको हार हुन्छ । माओबादी छापामारबाट स्वतन्त्रताको खोजीमा हिँडेको भूमिराज अन्त्यमा त्यही भुमरीमा जाकिन्छ । यो नै तत्कालीन सशस्त्र द्वन्द्वको चेपुवामा परेका नागरिकको प्रतिनिधि घटना हो ।

सरकारले पनि कर्णालीका बासिन्दालाई सौतेनी व्यवहार गर्दछ । कुहिएको तथा म्याद सकिएको चामलमा फोहोरी राजनीति हुन्छ । चामलमा भनसुन हुन्छ, कर्मचारीसँग आफ्नो नजिकको पहुँच हुनुपर्छ चामल पाउँन । यहाँ सरकारी तोक चाहिन्छ, केही केजी चामल पाउँन । यहाँ उनीहरुलाई न्याय कसले दिने, उनीहरुको कुरा कसले सुनिदिने ? दुई दिन हिँडेर चाडपर्वमा चामल लिन गएको र नपाएर फर्किंदा उसको सरकारप्रति धारणा कस्तो होला ? हामी सबै अड्कल लगाउन सक्छौँ । यति मात्र नभएर कर्णाली नदीमाथिको खिया लागेको जीर्ण तुइन काल बनेर रहेको छ, कति बेला निल्छ थाहा छैन । बाबुछोरा चामल लिन जाँदा त्यही तुइन चुँडिएर बाबुुको मृत्यु हन्छ र छोरा एक्लै घर कसरी फिर्ता भयो होला, यो नै ‘तुइन’ले बोकेको वास्तविक दुःख हो । खिया लागेको तुइन जस्तै छ समग्र कर्णालीवासीको जीवन, कति बेला चुँडिन्छ थाहा छैन । यो कर्णालीको व्यङ्ग्य पनि हो, सरकारका लागि ।

कर्णालीले पानी धेरै बगाउँछ, तर कर्णालीवासीको दुःख बगाउन सक्दैन । जीर्ण तुइनमा कर्णालीको जीवन अडेको छ । दुःखमा रूमल्लिएको कर्णालीको समृद्धि र विकासको सपना देख्नु पनि अपराध छ, यहाँ त्यो समयमा । सरकारको नजरसम्म पनि कर्णालीमा पुग्दैन भन्ने अनुमान लगाउन सकिन्छ । यहाँको दुःख वर्णन सुन्दा सबैको आँखा रसाउँछन् भने बाल्यकालका केही चकचक उटपट्याङले आफ्नो बाल्यकालको सम्झनामा पु¥याउँछ । लेखकले कर्णालीको दुःखको आत्मालाई समाएका छन्, जो कसैलाई पनि यो पढ्दा सहानुभूति लाग्न सक्छ ।

लेखकले ‘तुइन’मा प्रयोग गरेको भाषा, लेखनशैली तथा छोटा वाक्यले पाठकलाई अन्तिम पृष्ठसम्म तान्न सक्छ । अझ भनौँ, भाषिक सशक्तताको लागि पनि यो पुस्तक पढिने अनुमान गर्न सकिन्छ । लेखक कर्णालीभन्दा बाहिरको क्षेत्रको भएता पनि त्यहाँको भाषालाई दुरूस्त पार्न सक्नु उनको खुबी हो । तर, कर्णालीभन्दा बाहिरको पाठकलाई भने यसको भाषाले पढ्नमा केही असहज भने बनाउने छ । किताबको कभर तथा पुस्तकको आकारले पनि सबैलाई अकर्षित गर्न सक्छ । यो पुस्तक पढ्दा पटक्कै पनि झिँजो लाग्दैन, यसको विषयवस्तुले यसरी समाउँछ कि अद्योपान्त नपढी छोड्न मन लाग्दैन । यसको मूल पात्रको उडान र हन्डर–ठक्कर पाठकले पनि सँगसँगै खान्छन् ।

पुस्तक छोटो लाग्छ, अझै लामो भइदिए हुन्थ्यो भन्ने पाठकलाई लाग्नु स्वाभाविक पनि हो । यसको अन्त्य एउटा धारावाहिक चलचित्रजस्तो गरी भएको छ । त्यसपछि के हुन्छ भन्ने कुरा पाठकलाई नै आफूअनुकूल सोच्ने जिम्मा दिएका छन्, लेखकले । यसको कारण पाठकलाई केही खल्लो पनि लाग्न सक्छ । यसको अन्त्य सुखमय होस् भन्ने पाठकको चाहनाको विपरीत देखिन्छन्, लेखक । समग्रमा सबैको उपेक्षा रहने गरेको नेपालको भूगोलको यथार्थ चित्रणमा भने यो उपन्यास निकै सफल देखिन्छ ।

(यो समिक्षा चितवन पोष्ट मा प्रकाशित भएको थियो)

संविधान बनाउन कि मन्त्री हुन निर्वाचन ?

– हेमन्त भट्टराई

संविधान बनाउनै भनेर दुनियाँमा कतै नहुने दोस्रो संविधान सभाको चुनाव नेपालमा भयो । सबैको आशा थियो अब त नेताहरुको चेत खुल्नेछ र विगतका गल्ती कमजोरी नदोहो¥याई तोकिएको समयमा संविधान बन्नेछ भन्नेमा । तर त्यही पक्षले यसलाई नारामा मात्र सिमित राख्यो । अहिले आएर प्रस्ट भयो कि संविधान को नाम भजाएर यी नेताहरु पदमा आसिन हुन चाहान्छन् र फेरी पनि देशलाई प्रयोगशाला बनाउन खोज्दैछन् । चुनाब त केवल आफूले चाहेको पदमा पुग्ने भ¥याङ भएको छ । संविधान बनाउँछु भन्दै जनताको भोट गुथेका नेताहरु अहिले पदको लागि नै हुँकार गरिरहेका छन् । के जनाताले दिएको जनादेश यहि थियो ? के संविधान बनाउन र जनताको जीवनमा परिवर्तन दिलाउन सबैलाई गृह, परराष्ट्र, अर्थ, स्थानिय विकास, भौतिक योजना जस्ता मन्त्रालय नै चाहिने हो ? यदि यी नेताहरुले साँच्चै जनताको हित नै सोचेका थिए भने गरिबी तथा सहकारी, कृषि, शिक्षा जस्ता जनतासंग प्रत्यक्ष सरोकार तथा सम्बन्ध राख्ने मन्त्रालय किन प्राथमिकतामा परेनन् ? किन सबलाई मालदार र पावरवाला मन्त्रालय चाहिएको छ । कोहि पनि कसैको अगाडी कमजोर देखिन चाहाँदैनन् । चुनाबको बेलाको प्रतिवद्धता कसैले दोहो¥याउन चाहँदैनन् र कसैको प्राथमिकतामा पनि देखिँदैन । यस्तो अबस्थामा देश कसरी बन्छ र संविधान निर्माणको प्रकृया कसरी पूरा हुन्छ ? नेपाली जनताले कहिले सम्म आर्थिक विकास र आर्थिक समृद्धिले फड्को मारेको सपनामात्र देखिरहने ? कहिले सम्म देशलाई अनिर्णयको बन्दी बनाइराख्ने ?

पशुपतिनाथ सम्झदा जोगमेहर आँखामा : सम्झना नारायण गोपाल को

सम्झना पातलिए हुन्थ्यो झै लाग्दा झन् बाक्लिएर आउँछ । बिर्सन खोज्दा झन् झन् सम्झन्छु । अनि दुख्छु टोलाउँछु र एकान्तमै हराउँछु । नारायण गोपाल खस्दा पचास र गोपाल योन्जन खस्दा सय प्रतिसत नै बिमुख भएँ म । यो पट्यारलाग्दो युगमा नितान्त एक्लो र असान्दर्भिक नै भएको छु ।

 

 

गाढी चढेर हिड्दा एफएम लगाउँछु त्यो पनि चाख दिएर सुन्न सक्दिन् । गीत लेख्नै छाडेँ । दिनभर घरमै कवितामा रुमल्लिन्छु बरालिन्छु बिलाउँछु । साँच्चीकै एक्लोपनको महसुस भएको छ ।

 

***

सन् १९६४ को कुरो । नेपाली कला संगीतको उर्लदो बाढी थियो दार्जलिङमा । बैरागी काई,ला ईश्वर बल्लभ, अमर गुरुङ, अगमिसंङ गिरी, गोपाल योञ्जन, कर्म योञ्जन जस्ता व्यक्तित्वहरुको चहलपहल थियो त्यहाँ । स्नातकको पढाइका क्रममा म त्यतै थिएँ ।

 

नेपाली लोकगीत र नाचलाई धेरै वर्ष अगि देखि प्राथमिकता दिने हिमालयन कला मन्दिर निक्कै चर्चामा थियो । समय मिलाएर धेरै पटक त्यहाँ पुग्थेँ । बेला बेला भैरहने कवि गोष्ठीहरुमा पनि झुल्किन्थेँ । गोपाल योञ्जनसँग मेरो दोस्ती गहिरो थियो त्यसबेला । कला मन्दिरमा हामी ग्रामोफोनबाट गीतहरु सुन्थ्यौं । रेडियो नेपाल पनि धेरै सुन्ने बानी थियो । नारायणका गीत सुनेपछि म र गोपाल उनको स्वरको तारिफ गथ्यौं ।

 

***

नारायण त्यसबेला भारतको इन्दरेको बारुदा भन्ने ठाउँमा संगीत पढ्दै थिए । स्नातक सकेकी पेमला लामा भने दार्जलिङकै एक विद्यालयमा अध्यापन गराउँदैथिइन् । देखभेट नभएका उनीहरु बीच चिठी पत्र आदान प्रदान हुन्थ्यो । नारायण पहिलो पटक पेमलालाई भेट्न दार्जलिङ आए । इश्वर बल्लभकै कारणले मेरो नारायण गोपाल र गोपाल योञ्जनको चिनजान भयो । उहाँ ५\७ दिन दार्जलिङ बस्नु भयो ।

 

मैले पहिला भेटमा उनलाई एकदमै रसिक पाएँ । आफ्नो विषय प्रति निक्कै नै गम्भिर । हामी बीचका सम्बन्धहरु औंपचारिकताबाट अनौपचारिकतामा जाँदै थियो । त्यो बसाइमा हामीसँगै उनको घुमघाम र उठबस भए । गोरखा दुःख निवारण समितिको हलमा पुगेर उनी गाउँथे । “स्वर्गकी रानी मायाकी खानी…” धेरै जसो रत्न समसेरका यस्तै गीतहरु सुन्न पाइन्थ्यो । ती भेटहरु अविस्मरणीय रहे ।

 

***

म धेरै जसो कवितामा हराउथेँ । प्रमाणपत्र तहमै मैले कविताको पुस्तक निकालेको थिएँ । गोपालको करले मैले केही गीत लेखेँ । गोपालले त्यसमा संगीत भरे । उनलाई मात्र हैन म आफैलाई पनि निक्कै मन पर्यो ।

 

म फर्केको केही महिना मै नारायण फेरि दार्जलिङ आए । उनका ८ गीतहरु रेडियो नेपालमा रेकर्ड हुने भएछन् ।

हामीले लेखेका २० /२५ गीत उनलाई सुनायौं । उनले त्यसैबाट आठ गीत छाने र रेकर्डको लागि कलकत्ता पुगे । ती मध्ये मेरा पनि ३ गीत परे ।

 

तिम्रो जस्तो मुटु मेरो पनि…

बिर्सेर फेरि मलाई नहेर

 

त्यही बेलाका गीत थिए यी । २०/२२ वर्षे लक्का केटो म । आफ्ना गीत रेडियोबाट सुन्दा । त्यसका उत्साहपूर्ण प्रतिकि्रया पाउँदा निक्कै पुलंकित हुन्थेँ । हाम्रो दोस्ती निक्कै गाढा हुँदै थियो ।

 

***

नारायण र पेमलाको पहिलो भेटको कुरो । त्यसअगि उनीहरु बीच पत्र आदान प्रदान मात्र हुन्थ्यो । पेमलालाई भेट्न नारायण गोपाल दार्जलिङ आउँदाको कुरो । म कर्म गोपाल र नारायण गाडीमा उनले पढाउने स्कुल खोज्दै गयौं । नारायण र कर्म गाडीमै थिए ।

 

म र गोपाल योञ्जन सरासर स्कुलको गेटमा पुग्यौं । उहाँलाई बोलाइदिन चिट बुझाएपछि उहाँ सरासर बाहिर आउनु भयो । म गोपालको दायु तिर थिएँ ।

“मित ज्यू भेट्न आउनु भएको छ,” गोपालले दायाँ तिरै हात तेसा्रउँदै भने । उहाँले गाडीमा रहेका नारायाण गोपाल तिर देखाउन खोजेपनि हात भने दायाँ पट्टी बसेको मै तिर सोझियो ।

 

पहिल्य कहिल्यै नदेखेको मान्छे । उहाँले त म नै नारायण भन्नु भएछ क्यारे रातो पिरो अनुहार लगाएर तल मुन्टे झुकाउनु भयो । मलाई पो लाज भो । मैले हत्तन पत्त नारायण गोपाल त गाडी नेर हुनुहुन्छ भनेर मुख खोलिहालेँ ।

 

***

भारताको पढाइ सकेर उनी नेपाल आए । हामी पशुपति घुम्न जान्थ्यौं । त्यहाँ एक बाबा थिए चित परिचित । नारायणलाई देखेपछी उनी चिलममा गाँजा भर्थे । “ए नारायण गोपाल इदर आवो”, आफूले एक दुई सर्को तानेर उनी नारायण तिर तेर्साउँथे । नारायाण पनि के कम “स्वार्र स्वार्र पार्थे ।” तर पनि कन्ट्रोलमा बस्थे । उनी रक्सी चुरोट सुर्ती जे पनि खाने । तर बेहोस हुने गरि खान्छ भन्ने कुरा चाहीँ बढाइचढाइ हो ।

 

 
 

 

भूगोल पार्कको इन्दिरा रेष्टुरेन्ट हाम्रो जमघटको थलो थियो । त्यस्तै धर्मपथको पारस होटलका ११ हो की १३ नम्बरको कोठा भूपी शेरचनको नाममा पहिल्यै बुक हुन्थ्यो । त्यो कवि साहित्यकारको जमघटको थलो थियो । खाएपिएको सप्पै भूपीले तिर्ने । के गर्नु त्यती बेला अरुसँग तिर्ने पैसा कमै हुने । जमघटमा निक्कै रमाइलो हुन्थ्यो । भूपीसँग नारायणको दोस्ती यस्तो बढेको थियो कि उ सकेसम्म कुनै कुरा टार्दैन्थ्यो । भूपी सानो बाबु भनेर बोलाउँथे नारायणलाई । टोलटोलमा हुने भजनमा नारायण हान्निएर पुग्थे । डुबेर गाउँथे । उसको गायन कला देखेर सबै हेरेको हेर्यै हुन्थे ।

 

सब्बै उसलाई घमण्डी भन्छन् । अभिमानी भन्छन् । मलाई त उ स्वाभिमानी लाग्छ । “नमस्कार गर्दा पनि फर्काउँदैन्थ्यो”, यसै भन्छन् कोही । तर मैले बुझेको उ मनको त्यस्तो थिएन् । मलाई उसको आँखा निक्कै कमजोर भएको शंका थियो । उ अभिभादन फर्काउँदैन्थ्यो किनकी उसले राम्ररी देख्न पाएको हुन्थेन । मैले आँखा जँचाउ भन्दा पनि उसले “काँ सोम देख्छु भन्दै टार्थ्यो । एक दिन उ डाक्टरकहाँ पुग्यो । पछि बल्ल थाहा पायो कि उसको आँखाको पावर झण्डै माइनस ७ थियो ।

 

***

 

उनी काल्पनीक कुरा गर्न निक्कै रुचाउँथे । श्रीमतीलाई कहिल्यै उदाष हुन दिएनन् । निक्कै ठट्टा गर्नु पर्ने । उदाष माहोललाई रोमान्चक बनाउन उनी झिंगाको पनि क्यारिकेचर गर्थे र हँसाउँथे ।

 

पैसामा उनीलाई नोठ मन पदैन्थ्यो । सिक्का त्यो पनि सानो पैसाको उनलाई यस्तै मन पथ्र्यो । “दश लाखको सिक्का साटेर पसिना आउन्जेल गन्दै बस्न कस्तो हुन्थ्यो होला”, घरि घरि उनी यस्तै अचम्मका प्रश्न तेर्साउँथे । खुब हसाउँने । उनका कुरामा निक्कै रस हुन्थ्यो, हँसाउन र ट्रर्याक चेन्ज गर्ने ।

 

हामी हिड्दै गफ गर्दा उनी भन्थे “ह्या थापाकाजी कति हिड्नु कहिलेकाहिँ त आकाशमा उड्न पाएनी हुन्थ्यो नी । बाटोमा झै आकाशमा पनि साथीहरु उडिरहेका भेटिउन् । ए काँ गएर आएको अमेरिका म भर्खर जापान पुगेर आएको । अब जर्मन जाँदै हैत”,  यसै भन्दै उड्ने कुरा गर्थे उनी ।

 

***

 

२५/२६ साल तिरको कुरो । मेरो गीत बजारमा आएको थियो । मेरो गीत

 

“म उभिएको धुलोले सुनोस् महलले सुन्दैन भने झुपडीले सुनोस्…” यस्तै बोलको गीत माथि रेडियो नेपालको तत्कालिन महानिर्देशक भोग्य प्रसाद शाहासँग मेरो झगडै भयो । महल झुपडी जस्ता शब्द भएकाले उनले पछिल्लो लाइन गीतबाट हटाउन अनुरोध गरे । मैले मानिन् । चक्का नै लिएर त्यहाँबाट हिडेँ । “मलाई मन परेको गित हो सोम एक लाइन चेन्ज गर्देउन त” नारायणले अनुरोध गरेपछि मात्र मैले माने । निक्कै मिल्ति थियो हाम्रो ।

 

***

सायद सन् १९७० ताका होला । मलाई ठ्याक्क ख्याल भएन । महेन्द्र पुलिस क्लबमा “मित्ज्यु नाइट” को आयोजना गर्यौं । गोपालको संगीतमा नारायणको स्वर । हल नै गुंजायमान भएको थियो । त्यसको दुई महिना जति पछि होला । एकाबिहानै नारायण सुटकेश बोकेर मेरो कोठमा आइपुगे ।”हेरन सोम बिबाह गर्न दार्जलिङ जान लाग्या त्यत्ती खर्च बोक्या छैन् के गर्ने होला” उनले भने ।”मित्ज्यु नाइट” मा उठेको पैसा थियो मसँग । त्यसको केही भाग पहिल्यै उनले कलकत्ता पुगेर हार्मोनियम र अन्य बाद सामाग्री खरिदेको थियो । उसैको पैसा हो । मैले २४ हजार उनको हातमा हालिदिएँ ।

 

***

नारायणको बिबाह पछि उनी पेमला सहित काठमाडौं फर्के । नारायणका बाबा कुशल सितारबादक थिए । उनी क्लासिकल नारायण सुगम संगीत तर्फ । “ए थापाकाज लौन त्यसलाई सम्झाइदेउ स्राष्ट्रीयसंगीत तिर लाग्ने भन्देउ” बा आशा गोपाल यसै भन्थे मलाई । नारायण के मान्थे । कुरामा मिल्ती नभएर उनी पेमला सहित पोखरा गएर बसे । केही वर्ष पछि काठमाडौं फर्केका उनलाई एक दिन ठूलो समस्या पर्यो । डाक्टरले दिएको मिति अगि नै पेमलालाई सुत्केरी बेथा लाग्यो । अस्पताल लाँदा थाहा भयो उनको पाठेघरमा नभइ ट्युबमा बच्चा बसेको रहेछ । डाक्टर दिनेश नाथ गंगोल लागि परे पेमलाको अप्रेसनमा । अप्रेसनबाट ठिक त भइन् तर कहिल्यै सन्तान पाउन नसक्ने भइन उनी ।

 

नारायणले यसबारे कहिल्यै गुनासो गरेनन् । उनको गुनासो हुन्थ्यो त केबल गीतसंगीतको क्षेत्रका बारे हुन्थ्यो । “बाद्यबादन राम्रो बनाउन सकिएन भने नेपाली संगीतले राम्रो फड्को मार्न सक्दैन्” उनी यसै भन्थे । भायोलिन प्रखर रुपमा बजाउने मान्छे नभएकोमा पनि उनको गुनासो थियो । अर्को गुनासो नेपाली संगीत क्षेत्रमा सम्बन्धीत पत्रीका भएन भन्ने थियो । बाजा गीत र नाचलाई मिलाएर बागिना नामको त्रैमासिक पत्रिका पनि सुरु गर् यौं । मुस्कीलले केही अंक मात्र निस्कन सके । पत्रिकाका लागि लेख रचना पाउन पनि मुस्कील । अरुको नाममा म आफैले पनि धेरै लेख लेखेको छु पत्रिका भर्नकै लागि । उनी लौंन सोम नेपाली संगीतमा केही गरौं भन्थे । उनको प्रेरणामा मैले पनि केही समय संगीतका पुस्तक ल्याएर पढेँ पनि ।

 

***

नारायण खानमा निक्कै सौंखिन मान्छे । पकाउन पनि उत्तिकै माहिर । गज्जब बनाउने । खसीको मासु त औंधी मिठो बनाउने । उनको हातबाट बनेको मेथिको अचार निक्कै स्वादिलो हुन्थ्यो । मेरी श्रीमती मंजु पनि खुसा्रनीको अचार बनाउन माहिर । यता बनाएको छ भने उता लैजाने र उता बनाउँदा यता ल्याउने चलन थियो ।

 

नारायण महाराजगंज घर बस्दाको कुरो । उहाँलाई मासु कम खान डाक्टरले सल्लाह दिएका थिए । काम गर्ने केटोलाइ मासु किन्न पठाउँदा पेमिलाले एक पाउ मात्र ल्याउँ भनिछन् । यो कुराले दिक्क परेका नारायणले श्रीमतीलाई भने “हैन तिमीलाई लाज लाग्दैन् खाने तिन तिन जना । त्यसमाथि नारायण गोपालको घरबाट एक पाउ मासु किन्न पठाउँछन् भन्दा त्यो पसलेले के भन्ला?” उहाँको यस्तो जिद्दीलाई पेमिलाले टार्न सक्दैन्थिन् । “ल त्यसो भए आधा किलो ल्याउँ” पेमिलाले त्यती भनेपछि भने केटोसरासर जान्थ्यो । पेमिलाले सबै मासु पकाए पनि आधा भने छुट्टाएर साँझका लागि राख्थिन् । सबैले खान खाएपछि उनी अफिस जान्थिन् । यही मौंकामा नारायण लपालप बाँकी मासु खाइदिन्थे । खान भनेपछि उनी निक्कै सौंखिन थिए ।

 

***

उनी खस्नु भन्दा डेढ वर्ष अगाडीको कुरा । त्यतीबेला म कृष्णभक्त उपेन्द्र श्रेष्ठ लगायतका साथीहरु न्युरोड पिपलबोटलाई जम्मा भएर गफिने थलो बनाइसकेका थियौं । एक दिन मोटरसाइकल लिएर नारायण राजधानीको न्युरोड आए । बाइक त्यही आडामा राखे । “ए सोम म आइहालेँ है” यती भनेर उनी कता हिड्थे हिड्थे । आधा घण्टामा झुल्कन्थे “सोम म गए है” बाइक स्टार्ट गर्यो हिड्यो ।

 

यस्तो दिनचर्या ४/५ दिन दोहोरिएपछि भने मलाई अचम्म लाग्यो । एक दिन उनलाई लुकीलुकी पच्छ्याएँ । उनी त कृष्ण गुतपाक भण्डार पुगेर पैसा निकाल्न थाले “एकपाउँ दिनुस् त ।”

 

एक पाउँ गुतपाक बोकेर उनी सरासर मांकालको मन्दिर पछाडी गए । त्यही छेलिएर उनी त कपाकप गुतपाक खान थाले । सुगरको बिरामी त्यसमाथि गुतपाक । मैले उनलाई पक्रे र सम्झाएँ । यस्तै थिए उनी खान भनेपछि केही नबार्ने मनले माग्यो की खाइहाल्यो ।

 

***

उनले सोचे पछि सोचे सोचे । अन्तिम अवस्था हुँदा पनि बिरअस्पतालको कुरो । उनले धेरै चिकेन सजेज माग्न थालेपछि डाक्टरले एक टुक्रा भन्दा नदिनु भनेका थिए । उनी भने थप दुई टुक्रा नपाए खाँदै खान्न भनेर जिद्दी गर्न थाले । हामीले त्यो नपुर्याइ सुख पाएनौं ।

 

त्यसबेला म र मेरि श्रीमती उनलाई कुर्न पालैपालो बस्थ्यौं । नारायणले एक दिन भने “सोम निन्द्रै परेन यार सुत्नै सक्दिन् ।” यति भनेपछि मैले सुत्ने बेला आँखा चिम्म गरेर पशुपति नाथलाई सम्झनु निन्द्रा लाग्छ भनेँ । उनी के भन्छन् “काँ मैले हिजो त्यस्तै गर्न त खोज्या हो नी पशुपति सम्झदा जोगमेहर श्रेष्ठ पो आँखामा झलझली आउँछन् काँ सुत्न पाउनु ।” उनी अन्तिम अवस्था सम्म पनि यस्तै रसिक कुरा गर्थे ।

 

***

अस्पतालमा छँदा उनले नै आफ्नो घरलाई एउटा ट्रस्ट बनाएर राख्न भनेका थिए । त्यसको आडमा गीतगंगा भन्ने एउटा सानो अडिटरीयम बनाउन उनको अनुरोध थियो । उनी बिर अस्पताल भर्ना हुनु अगावै उनलाई भारत लगेर मृगौंला फेर्ने कुरा थियो । त्यसको चाँजो पाँजो बसन्त चौधरीले मिलाइ सकेका थिए । त्यही चौधरी जसको सक्रियतामा क्यान्सर पिडित सोसाइटीका लागि नारायण गोपाल साँझ आयोजना गरिएको थियो । भारत जान टिकट पनि रेडि भैसकेको थियो । अफ्सोच उनी अकस्मात हर्ट अट्याक भएर बिर अस्पताल पुगे ।

 

उनी अस्पतालमा छँदा धेरै नेताहरु भेट्न आउँथे । कृष्ण प्रसाद भट्टराइ पनि आइरहन्थे । हरेक दिन रेडियो नेपालको प्रमुख समाचारमा फलानो नेता नारायणलाई भेट्न गए भन्ने आउँथ्यो । यो समाचारले अपरिचितमाझ पनि उनलाई परिचय गराउने बाटो बन्यो ।

 

दिनहुँ आउने एक जना वरिष्ठ नेता थिए गणेशमान । उनी यति चाँडो जान्छन् भन्ने थाहा भएन । गणेशमानले उनलाई तत्कालिन नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानमा नियुक्त गर्ने प्रस्ताव राखेका थिए । “मेरो इच्छा बमोजिम काम गर्न पाउने भए मात्र बस्छु”  नारायणले यस्तै भने । गणेशमानले सल्लाह गरौंला भनेर गए । पछि नारायणलाई झन् झन् च्याप्यो । उनी शारिरीक रुपमा यो संसारबाट हराए । यो कुरा पनि हराएर गयो ।

 

***

२०२७ सालमा धूपी भन्ने साहित्यीक पत्रीका आउथ्यो । त्यसमा मैले लेखेको आर्टिकलमै उनलाई धेरै पटक स्वर सम्राट नामले बोलाएको छु । तर कोही व्यक्ती संस्था वा सरकारले स्वर सम्राट पदवी उनलाई भिराएको म मान्दिन् । उनलाई स्वर सम्राट बनाउने नेपाली जनता हुन् संगीतका पारखीहरु जसले उनलाई सधैं माया गरे ।

 

उनको अन्त्यष्टीमा त्यस्तो हुलका हुल मान्छे विपि कोइरालाको सव यात्रा बाहेक कहिल्यै देखिएको थिइन । मान्छेको भिड थेगिसक्नु थिएन् । घर घरका छतमा झ्याल र कौशीमा मान्छे झुण्डीएका थिए । उनी जस्तो गायक न कहिल्यै जन्मेको छ न जन्मने छ ।

 

सुर्खेतको बुलबुले ताल

सुर्खेतको बुलबुले ताल

लाटीकोइली गाउँ विकास समिति वडा नं. ९ मा एउटा बुलबुले ताल रहेको छ । सुर्खेत उपत्यकाको सवैभन्दा ठूलो पानिको श्रोतको रुपमा रहेको बुलबुले वि.स. २०२९ साल पहिले तिलपुर, कुन्टी, नयाँगाउँ, पातालगंगा जग्गा सिचाईको निमित्त ज्यादै महत्वपूर्ण मानिन्थ्यो । यद्यपि सिंचाईको निमित्त पहिले पनि त्यत्तिकै महत्वपूर्ण छ । तर पनि आजकाल सिंचाईभन्दा यसको बुलबुल गर्दै जमिन मुनीबाट निस्कने पानीको फोका र बाह्रै महिना एकनासले सम्पूर्ण धाराबाट बग्ने अविरल पानीको बढी महत्व छ । बुलबुलेको आजकाल देखिने जलकूण्ड निर्माण गरिनुपूर्व सानो चिरोमा केही ठुला ठुला ढुङ्गाको बिचबाट पानी बुलबुल गर्दै बाहिर निस्केर बग्ने गर्दथ्यो । यहाँ स्थानीयबासीले लुगा धुने, स्नान गर्ने र खानेपानीको समेत प्रयोग गर्ने भएकाले मुखिया भीमराज पोख्रेलले बुलबुले पानीको मुहानदेखि पश्चिमपट्टि बरपिपलको रुख रोपेर चौतारी समेत बनाईदिएका थिए ।

वि.स.२०२९ सालमा तत्कालीन राजा वीरेन्द्र सुर्खेत गएपश्चात वीरेन्द्रनगरलाई व्यवस्थीत शहरको रुप दिने आवश्यक योजना तर्जुमा गर्न वीरेन्द्रनगर नगरयोजना कार्यान्वयन समितिको गठनभै नगर योजना कार्यान्वयन ऐन लागु गरिएको थियो । यो वर्तमान बुलबुले ताल वीरेन्द्रनगरभित्र नपर्ने भएपनि पानीको राम्रो स्रोत भएकाले यसको संरक्षण गरिनु पर्छ भन्ने उद्देश्य राखेर इन्जिनियर माधवभक्त माथेमाले योजनाभित्र समावेश गरे । सुर्खेत उपत्यकाभित्र रहेका महत्वपूर्ण दार्शनिक र पुरातात्विक स्थानहरुको संरक्षण गर्ने क्रममा वीरेन्द्रनगर नगर योजना कार्यान्वयन समितिको सक्रियतामा महत्वहिन जस्तै वन्न पुगेको वुलवुले तालको संरक्षण र सम्वर्धन गर्ने कार्यको थालनी भयो । यस तालको पूर्व तिर महिलाको लागी ५ वटा र दक्षिण तिर पुरुषको लागि ५ वटा गरि जम्मा १० वटा कलात्मक धाराहरु जडान गरि तिनै धाराहरुवाट पानि प्रभावित हुने गर्दछ ।

वि.स. २०२९ सालदेखि बुलबुले तालको निर्माण गरी संरक्षण गरीएपश्चात यसको आकर्षण बढ्दै गएको छ । बुलबुले तालको चारैतिर २२ विगाह जमिन अधिग्रहण गरी तारवार र ट्याङ्की निर्माण गरीएका छन् । तालको उत्तर र पूर्वपट्टि वृक्षारोपण गरीएको छ रत्न राजमार्गको तीनकुनेदेखि तालसम्म जाने बाटोको दुवैतिर विभिन्न जातका मौसमी फूलका बोटहरु र काागियो सल्लो रोपिएको छ । तालको दक्षिणपट्टि विभिन्न जातका फुलहरु रोपेर सुन्दर बगंैचा निर्माण गरीएको छ । यस बगैंचालाई बुलबुले उद्यान्न भन्ने गरीन्छ । उद्यान्नमा रोपीने फूलहरु उत्पादन गर्ने नर्सरी पनि तालको उत्तरतर्फ सडकको बायाँ भागमा रहेको छ ।
यहाँ विहान, दिउँसो र सााझ तिनै प्रहरमा स्नान गर्ने, घुमफिर गरी मनोरञ्जन गर्नेहरुको भीड लाग्दछ । बुलबुले उद्यान्नमा विभिन्न वनभोज खाने स्पोर्टहरु पनि बनाएका छन् । शनिवार तथा अन्य विदाका दिनहरुमा सरकारी कर्मचारी, शिक्षक विद्यार्थी र अन्य व्यक्तिहरुले वनभोज खाई नाचगान गरेर रमाइलो पनि गर्ने गर्दछन् ।
वीरेन्द्रनगर नगरपालीकामा खानेपानीको संकट भएको अवस्थामा यहीबाट खानेपानी आपूर्ति गर्ने गरिन्छ । तालमा विभिन्न जातका माछाहरु पनि पालिएका छन् । यहाँ बाट बगेर खेरजाने पानी तलतिर ठुलो जलासयमा जम्मा हुन पुग्छ । यो जलाशयमा पानी बन्द गर्ने र खोल्ने गेट पनि राखिएको छ । कृषकहरुले धानको वीउ राख्ने बेलाहोस् अथवा रोपाईको बेलामा सुख्खा पर्न गयो भने यसै जलासयबाट पानी खोलेर खेतमा पानी पुर्‍याई आ–आफ्नो खाँचो टार्छन् । यति मात्र नभएर यस जलाशयमा सानातिना केटाकेटीहरु पौडी खेल्ने र माछा मार्नेसमेत गर्दछन् । बुलबुलेको तालबाहेक यसको हाताभित्र विभिन्न पानीका मुलहरु पनि छन् । यी मुलहरुलाई संकलन गरेर जलाशयको पूर्वतर्फबाट लाटिकोइली गााउँ विकास समितिका बासिन्दाहरुलाई विजुलीबाट पानी खिचेर काँक्रेविहारको डाँडामा पानी ट्याङ्की निर्माण गरी खानेपानीको सुविधा प्रदान पनि गरीएको छ पानी लिՙफ्ट गर्ने योजना ज्यादै खर्चालु भएपनि स्थानिय जनता र पुरातात्विक क्षेत्र काक्रेविहारमा वनभोज खान जानेहरुका लागि यो अत्यन्तै महत्वपूर्ण बनेको छ ।

बुलबुले खानेपानी योजनाबाट विभिन्न ८१ वटा सार्वजनिक धाराहरु वितरण गरिएका भएपनि पछिल्लो समयमा पानि सुक्दै गएपछि ती धाराहरु हाल बन्द रहेका छन् ।
स्वास्थ्य, खानेपानी, सिंचाइ र पर्यटकीय दृष्टिले समेत ज्यादै महत्व राख्ने बुलबुले तालको यथोचित रेखदेखमा विगतमा भन्दा केही शिथिलता आएको देखिन्छ । अहिले पनि यसको रेखदेख सुर्खेत उपत्यका नगर विकास समितिले गरीरहेको छ । सुर्खेत जिल्लाको गौरव, इज्जत र प्रतिष्ठासाग नाम गास्न पुगेको प्राकृतिक धरोहर यस बुलबुले तालको विषयमा हरेकले संवेदनशिल भई संरक्षण र सम्वद्र्धन गदै गएमा यसले सुर्खेत जिल्लालाई आफै सम्मानित नगर्ला भन्न सकिन्न ।